काठमाडौँ । किसानले बजार नपाएको र तरकारी बजारमा बिचौलिया हावी भएको भनी गुनासो बढिरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल राख्ने व्यवस्था गरेको छ ।
कृषिमन्त्री पद्माकुमारी अर्याल केही दिनअघि कालीमाटी तरकारी बजारको अनुगमनमा जाँदा किसानका लागि छुट्टै स्टलको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको मङ्गलबार बसेको बैठकले किसानका लागि छुट्टै १२ वटा स्टल राख्ने निर्णय गरेको हो ।
यससँगै अब किसानले आफूले उत्पादन गर्ने तरकारी तथा फलफूल लगेर सीधै स्टलमा राखेर बेच्न पाउने छन् । यसअघि व्यपारीहरूले किसानबाट तरकारी खरिद गरी सो बजारको स्टलबाट बिक्री वितरण गर्दै आएका थिए । अब एउटा किसानले कम्तीमा दैनिक पाँच केजी तरकारी पोको पारेर बेच्नुपर्ने हुन्छ ।
एक जना किसानले २० घण्टाका लागि सो स्टल प्रयोग गर्न पाउने छन् । यदि कुनै किसानले आफ्नो तरकारी बेचिसकेर स्टल खाली भए अर्को किसानले पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको समितिका अध्यक्षसमेत रहनुभएका कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो ।
अब देशका जुनसुकै किसानले सो स्टलमा आएर आफ्नो उत्पादन बेच्न पाउने व्यवस्था भएको उहाँले बताउनुभयो । जुन किसान पहिला आउँछन्, त्यहीअनुसार ११ वटा स्टल प्रयोग गर्न पाउने छन् ।
एउटा स्टल भने रिजर्भमा राखिने छ । टाढाबाट पछि आउने किसानले सो रिजर्भ स्टल प्रयोग गर्न पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । स्टल प्रयोग गरेबापत किसानले प्रतिकेजी २० पैसाको दरले दैनिक भाडा तिर्नुपर्ने व्यवस्था समितिले गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । गोरखापत्र दैनिकबाट


























