GB Koirala Banner Ad New

दूध ढुवानी अब एम्बुलेन्ससरह

काठमाडौँ । सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ । यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूध ढुवानी गर्ने गाडीलाई विश्वमा कुनै पनि देशले छुट्टै लोगो प्रदान नगरेको भन्दै नेपाल पहिलो हुने बताउनुभयो । उहाँका अनुसार त्यस्तो लोगो पाएका दूध ढुवानी गर्ने साधनलाई एम्बुलेन्स जस्तै कसैले पनि रोक्न सक्दैन ।

बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा तिनमा रोकावट भइरहेको हुन्छ ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुने गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि लोगो तयार गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक यादवले दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिनाकारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको बताउनुभयो ।

दूध ढुवानीलाई अत्यावश्यक वस्तुका रूपमा राखे पनि विभिन्न कारणले त्यसलाई रोक्ने काम भइरहेकाले अब त्यसलाई कसैले नरोकोस् भनेर बोर्डले छुट्टै चिह्न (लोगो) प्रदान गर्न लागेको उहाँले बताउनुभयो ।

दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ लगायतका सरोकारवालाले सिफारिस गरेका आधारमा दूध ढुवानी गर्ने गाडीलाई लोगो प्रदान गर्ने बोर्डका प्रशासन प्रमुख विदुर राईले बताउनुभयो ।

प्रतिस्पर्धाबाट लोगो र त्यसलाई कार्यान्वयनमा ल्याउन कार्यविधि पनि तयार भइसकेको छ । लोगो र कार्यविधि कृषि मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट आउनेबित्तिकै एउटा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

लोगोलाई दुरुपयोग गर्ने गाडीधनीलाई कानुनअनुसार कारबाही गर्ने र त्यसको अनुगमनका लागि एउटा समितिसमेत रहने बार्डले जनाएको छ । अहिले लोगो मात्र प्रदान गरिएको छ, यसको प्रयोगपछि कस्तो प्रभाव हुन्छ, त्यसलाई अध्ययन गरेर थप परिमार्जन गर्ने प्रमुख राईले बताउनुभयो ।

चैतको तेस्रो हप्ता लोगो सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोगो सार्वजनिक गर्ने तयारी भइरहेको छ । सार्वजनिक कार्यक्रममा सुरक्षा निकायका तीनवटै प्रमुखलाई निमन्त्रणा दिने तयारी रहेको निर्देशक यादवले बताउनुभयो ।

दूध दुवानी गर्ने गाडीलाई रोक्ने काम सबभन्दा बढी सुरक्षा निकायबाट भएको हुनाले उहाँहरूलाई जानकारी गराउन पनि कार्यक्रममा निमन्त्रणाा गर्ने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट