ललितपुर । जनस्वास्थ्य कार्यालय ललितपुरले नसर्ने रोगको समयमै पहिचान र रोकथाम गर्ने उद्देश्यसहित माघ महिनाभर निःशुल्क स्वास्थ्य परीक्षण (स्क्रिनिङ) अभियान सञ्चालन गरिरहेको छ। कार्यालयले माघको पहिलो सातादेखि नै अभियानलाई तीव्रता दिएको जनाएको छ।
कार्यालयले जिल्लाभरका स्थानीय तह, स्वास्थ्य संस्था तथा पालिकासँग समन्वय गरेर ग्रामीण तथा दुर्गम क्षेत्रलाई लक्षित गरी स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। शिविरमार्फत रक्तचाप, मधुमेह, थाइराइड, मिर्गौला, मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, फोक्सो तथा स्वासप्रश्वाससम्बन्धी रोगहरूको परीक्षण भइरहेको छ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले भने “दक्षिण ललितपुरका पालिकालाई विशेष प्राथमिकतामा राखेर थुप्रै स्वास्थ्य शिविर सञ्चालन गरेका छौं शिविरबाट धेरै नागरिकमा नसर्ने रोग पत्ता लागेको छ रोग पहिचानपछि समयमै उपचारका लागि प्रेरित गरी उनीहरूको जीवनस्तर र आयु बढाउन यो अभियान प्रभावकारी बनेको छ।”
उनका अनुसार परीक्षणका क्रममा जटिल प्रकृतिका रोग देखिएमा सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारका लागि सहजीकरणसमेत गरिएको छ। नसर्ने रोग बढ्नुको मुख्य कारण धुम्रपान, अस्वस्थ वातावरण, असन्तुलित खानपान र बिग्रँदो जीवनशैली रहेको उनले बताए।
यसैक्रममा सोमबार जनस्वास्थ्य कार्यालय परिसरमै ललितपुरका करिब ४० जना स्थानीय पत्रकारहरूकोसमेत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। कार्यालयका अनुसार सञ्चारकर्मीहरूलाई पनि नियमित स्वास्थ्य परीक्षणप्रति सचेत गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
गत वर्षदेखि स्वास्थ्य मन्त्रालयले निरोधात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा नसर्ने रोगविरुद्ध प्रतिकारात्मक अभियानस्वरूप निःशुल्क स्क्रिनिङ कार्यक्रम घोषणा गरेको थियो। हरेक वर्ष फागुन महिनाभर नसर्ने रोग पहिचान गर्ने महिना घोषणा गरेको भए पनि फागुन महिनामा प्रतिनिधिसभा निर्वाचन पर्ने भएकाले जनस्वास्थ्य कार्यालय ललितपुरले अभियान माघ महिनाबाटै सुरु गरेको हो।


































