काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई २०८० फाल्गुण ०८ गते रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । पदोन्नतिसँगै रथी थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन्।
हाल उनी UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE (UNDOF) मिशनमा Head of Mission and Force Commander को रुपमा कार्यरत रहेका छन् । उनी नेपाल सरकार, मन्त्री परिषद्को २०८० माघ २५ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् ।
वि.सं. २०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापा, वि.सं.२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।
रथी श्री थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पि.एस.ओज्. सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह-संयोजकको जिम्मेवारी समेत सम्हाली सकेकाे अनुभव रहेकाे छ ।
अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट NDC तालिम सम्पन्न गरेका हुन् । यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनन तथा कंगोमा शान्ति सेनामा सहभागी भएका थिए ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै परिवारजनको उपस्थिति रहेकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।






























