GB Koirala Banner Ad New

अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण  महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे। उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको समेत बताए ।

उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ,’ उनले भने । अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको पनि बताए ।