करीब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, जग्गालाई ब्यांक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्ने लगायतका माग राखी लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। स्थानीय बासिन्दाको अवरोधका कारण असोज १९ गतेबाट लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करीब चार किलोमिटर तार फेर्ने काम रोकिएको छ।
प्राधिकरणले पूर्व-पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्म करीब १३६ किलोमिटर खण्डमा पर्ने थोरै क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो। यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्लाई ढल्केबर सबस्टेसन मार्फत भारततर्फ निर्यात गर्न सकिन्छ।
कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङ लगायतका समस्या आएको र विद्युत् मागलाई व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
उनले तत्काल काम गर्न नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन अवरोध भएर हिउँदमा वीरगञ्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्ने जोखिम रहेको बताए ।
आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका मेयर, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दा लगायतसँग पटक-पटक छलफल गरिए पनि कुनै निश्कर्ष आउन नसकेको बताए। स्थानीयले माग पूरा नभएसम्म आफ्नो जग्गामा टेक्दै नटेक्न चेतावनी दिएको उनले बताए।































