काठमाण्डौं,। किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनले भने, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’
सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेको छ । गएको भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।
गएको भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतवार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ । उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएका छन् ।
शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो । सरकारले गएको भदौ २७ गतेदेखि कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।































