काठमाडौँ- बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।
राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो साथै बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।
नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ ।
यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।