GB Koirala Banner Ad New

राष्ट्रिय सभा बैठक साउन ३१ गते बुधबार १ बजे बस्ने गरी स्थगित

काठमाडौँ । शुक्रबारको  राष्ट्रिय सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आसनबाट उठेर विरोध जनाएका छन् । बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेले आसनबाट उठेर बैठक अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै विरोध जनाएका थिए ।

सुन तस्करीका विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडानमा रहेको एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । शुक्रबार पनि एमालेले अवरोध गरेपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर विरोध जनाएका हुन् ।

बैठकको कार्यसूचीअनुसार कारबाही अघि बढ्नुपर्छ,’ सत्तापक्षका सांसदहरुले भनेका थिए । सत्तापक्ष र प्रतिपक्ष दुवै उठेर विरोध जनाउन थालेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उठेरै बैठक सञ्चालन गर्न पनि स्वास्थ्यले साथ नदिने अवस्था आउँला भन्दै ठट्टा गरे । सत्तापक्ष र प्रतिपक्ष दुवैले विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले निरन्तर संसद् अवरुद्ध भएको भन्दै पटक-पटक आग्रह गरेपनि दुवै पक्षले विरोध रोकेनन् । त्यसपछि बैठक साउन ३१ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

एमालेको दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान रोकेर सीआईबीलाई दिएका छन् । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ ।