GB Koirala Banner Ad New

सरकार र गौर घटनाका पीडितबीच पाँचबुँदे सहमति

काठमाडौँ। गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि उक्त सहमति भएको हो।

घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउने सहमत भएको छ।

त्यस्तै घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ। यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन्।

मृतकहरूको स्मृतिमा रौतहट जिल्लामा सहिद स्मारक स्तम्भ निर्माण कार्य यही आर्थिक वर्षमा अघि बढाउने सहमति भएको छ। साथै घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो। संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो।

यो सहमतिसँगै संघर्ष समितिले आन्दोलनका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।