GB Koirala Banner Ad New

महावीरको आन्दोलनमा समर्थनको ओईरो

काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि माइतीघर पुगेर आन्दोलनका मागप्रति आफ्नो पार्टीका २१ जना सांसदकै समर्थन रहेको बताएका  छन् ।

उनको आन्दोलनमा समर्थन छन् बढ्ने क्रम रोकीएको छैन शनिबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी लगायतका पदाधिकारी माइतीघर पुगेका थिए ।  पुनको अगुवाइमा भइरहेको आन्दोलनमा युवाहरूको पनि स्वतस्फुर्त समर्थनको ओईरो बढिरहेको छ ।

शुक्रबार दिउँसो प्लेकार्डसहित माइतीघरको सडकमा प्रदर्शन गरेका उनले समर्थकसहित शुक्रबार राति सडकमै बिताए । माग पूरा नभएसम्म रातदिन आन्दोलन नरोकिने उनको अडान छ । ‘हामीचाहिँ माइतीघर मण्डलको सडकमा रातभर सुतेर उठ्यौं । जनताहरू सुतिरहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनुहोस्,’ पुनले धर्नाको तस्बिर राख्दै फेसबुकमा लेखेका छन् ।

उनले सरकार नब्युँतिन्जेल आफूहरूले पनि सडकमै सुतेर धर्ना दिनुपर्ने भन्दै सामाजिक सञ्जालबाटै माइतीघरको सडकमा सुत्नका लागि आउन आह्वान गरेका थिए । उनले भनेका छन्, ‘अब सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प छैन । सरकारले अरू क्षेत्र हेर्ने दर्जनौं विभाग र सरकारी संरचना बनाएको छ । तर अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने कुनै सरकारी निकाय छैन ।

सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने पुनको भनाइ छ । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरे ।