GB Koirala Banner Ad New

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसद पदको शपथ

काठमाडौँ — उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

वैशाख १० गतेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्‍याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका थिए । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

यस्तै गरी तनहुँ–१ मा  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए । ३ सिटका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी २ सिटमा विजयी भएको हो भने १ सिटमा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका हुन् ।