GB Koirala Banner Ad New

प्रहरी चार एसएसपी रिक्त: बढुवामा तिव्र चलखेल

काठमाडौं। नेपाल प्रहरीमा वैशाखयता तीन जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाइसकेका छन्। एसएसपीको ५५ बर्षे उमेर हदका कारण दिलिप चौधरी, देवबहादुर बोगटी र किशोरकुमार दाहालले अवकाश पाएका छन्। तीनै जना एसएसपी प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका ‘ब्याची’ हुन्।

सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएपछि थप एउटा एसएसपी पद पनि रिक्त भएको छ। डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षक (एसपी) हरुलाई प्रहरी प्रधान कार्यालयले एसएसपीमा बढुवा सिफारिस गर्नुपर्ने हुन्छ।

साउन २० गतेदेखि एसएसपी मुकेशकुमार सिंहले पनि अवकाश पाउँदै छन्। अवकाश हुनुभन्दा एक साताअघि बढुवा समितिले अवकास हुने बाहेकलाई बढुवा सिफारिस गर्न सक्छ। रिक्त हुने एक पदसहित पाँच जना एसएसपीमा बढुवा हुँदैछन्।

प्रहरी संगठन निरिह भएको कारण बढुवा प्रक्रिया अन्यौलमा पर्ने भएको छ। गृह मन्त्रालयले एसपी बढुवाको तयारी गर्न निर्देशन दिए पनि आईजी क्षेत्रीले आलटाल गर्दै आइरहेका छन्।

गृह मन्त्री बालकृष्ण खाँणको इसारा नपाएकाले बढुवा प्रकृया शुरू नभएको बताइन्छ।आईजीकै ब्याचीहरु अवकाश भएर गएको ३–३ महिना बित्दा समेत रिक्त पदपूर्ति हुन सकेको छैन।

योग्यता पुगेका प्रहरी अधिकृतहरुको नामावली सिफारिस गर्न नसकेको आरोप आईजी क्षेत्रीमाथि लागेको छ। रिक्त पद कम र आकांक्षी धेरै भएका कारण बढुवा समितिको बैठक बस्न नसकेको बताइन्छ ।

केही प्रतिस्पर्धी एसपीहरु बिदा बसेरै विभिन्न राजनीतिक दलका नेता तथा शक्ति केन्द्रमार्फत बढुवाको लागि दबाब दिन थालेपछि क्षेत्री तत्काल प्रक्रिया अगाडि बढाउने पक्षमा छैनन्। केही समयपछि मात्रै बढुवा प्रक्रिया अघि बढ्ने भएको छ।

पाँच एसएसपीको लागि प्रतिस्पर्धामा सिनियर देखि जुनियर सम्म छन्। एसएसपीको ‘फूली’ लाउन पाउने आकांक्षीहरूमा सिनियर ब्याचका एसपीदेखि जुनियर ब्याचका एसपीहरु पनि छन्।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले पदपूर्ति गर्ने तयारी गरेता पनि प्रतिस्पर्धी एसपीहरुको अनावश्यक दबाबको कारण बढुवा निकाल्न ढिलाइ भएको छ।

सिनियर ब्याचका एसपीहरु पाँच जना छन्। जसमध्ये २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसपी विकासराज खनाल एसएसपीको मुख्उ प्रतिस्पर्धी हुन्।

खनालको ब्याचीहरु प्रायः एसएसपी भइसकेको अवस्थामा सम्भवतः उनको बढुवा हुनेछ। त्यस्तै ध्रुबराज राउत, भोला रावल, अनुरागकुमार द्विवेदी पनि एसएसपीको आकांक्षीका रूपमा रहेका छन्।

त्यस्तै ११० ब्याचका योगबहादुर पाल, टिकाबहादुर केसी र राजेन्द्र खड्का पनि एसएसपीका प्रतिस्पर्धी रहेका छन्। प्रतिस्पर्धी पाल, खड्का र केसी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका थिए ।

यस्तै ०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन्। यद्यपि सिनियर ब्याचीहरु रहँदारहँदै उनीहरुलाई बढुवा गर्न नहुने बताइरहँदा आईजी क्षेत्रीले आफ्ना नजिकका केहीलाई बढुवा गर्नुपर्ने भन्दै दबाब दिएका छन्।

पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, जीवनकुमार श्रेष्ठ, दानबहादुर कार्की, ईश्वर कार्की, सुशीलसिंह राठौर र ओम रानालगायतका एसपी पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन्। यस्तै पछिल्लो ब्याचबाट रमेश थापा पनि एसएसपीको लागि लबिङ गरिरहेका छन्।

प्रहरी नियमावली २०७१ मा एसएसपी बढुवाको लागि गृह सचिव अध्यक्ष, आईजी सदस्य र आईजीले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वा मानवश्रोत तथा प्रशासन विभागका एआईजी सदस्यसचिव रहने व्यवस्था रहेको छ।

सत्तारुढ निकट रहेका प्रहरी अधिकारीहरु बढुवाका लागि खुलेरै पार्टी, पावर र पैसाको चलखेल गरिरहेका छन् । यसले बढुवालाई असर पार्न सक्ने देखिन्छ। भविष्यको प्रहरी महानिरीक्षकमा यो बढुवाले मार्गनिर्देश गर्ने भएकाले समेत यो बढुवामा अगाडि आउन एसपीहरुको चलखेल बढेको छ।