पोखरा । क्षत्री समाज नेपालले समाजका पूर्व महासचिव, सल्लाहकार कुमार खड्का र सल्लाहकार विन्दुकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ ।
समाजले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रीमा कुमार खड्का, कानुन सञ्चार तथा प्रदेशसभा मन्त्रीमा विन्दुकुमार थापालाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ ।
सम्मान ग्रहण गर्दै मन्त्री खड्काले समाजको नेतृत्व लिदै राजनीतिमा लाग्दा आफूले सदैव समाजलाई उच्च स्थानमा राखेको बताउनुभयो ।
जातीय सद्भाव कायम गराउन समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकार सदैव सबै जाती समेटी सम्वृद्ध प्रदेश बनाउन लागी परेको बताउनुभयो । कोरोना भ्याक्सीन प्रदेशमा ल्याउन आफूले अन्तराष्ट्रिय रुपमा पहल गर्दै आईरहेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश मन्त्री विन्दुकुमार थापाले जनताको मतको कदर स्वरुप आफूमन्त्री भएकाले सो लाई कार्यान्वयन गर्न र प्रदेशको कानुन निर्माणमा सदैव लाग्ने समेत बताउनुभयो ।
समाजले प्रदेश सरकारको सहयोगमा निर्माण गरिन लागेको खस आर्य सङ्ग्राहलय बहुउद्देश्यीय भवनको आय–व्यय राख्दै कार्य सम्पन्न का लागी सबैतहबाट सहयोग गरीदिन समितिका संयोजक प्रेमबहादुर जि।सि।ले अनुरोध गर्नुभएको छ ।
क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष डा. दिलबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व केन्द्रिय अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापा, केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापा, सचिव हिमाल खड्का गण्डकी प्रदेश अध्यक्ष वेनी बहादुर बस्नेत, कास्की जिल्ला अध्यक्ष पदमबहादुर कार्की लगायतले शुभकामना सहित आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सम्मानित मन्त्रीद्वयलाई केन्द्रिय समिति, प्रदेश, जिल्ला र भ्रातृ समाजका पदाधिकारीद्वारा सम्मान गरिएको थियो ।































