GB Koirala Banner Ad New

नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारसँग माग

काठमाडौ । नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको छ । गत जेठ ६ गते पनि सभापति शेर बहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन–पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो।

नेपाली कांग्रेस आफै पनि कोभिड–१९ को रोकथाम र उपचारमा जनताका पीडाहरुलाई कम गर्न सक्रियताका साथ लागि परेको छ । तर देशको साधन स्रोत र संयन्त्रको जिम्मेवारीमा रहेको सरकारले गर्ने सम्पूर्ण काम नेपाली कांग्रेसले गर्न सक्ने कुरा भएन ।

सरकारको नेतृत्वको सम्पूर्ण ध्यान भने जसरी पनि सरकारमा टिकिरहनु पर्छ भन्ने मात्र भएकोले जनताका आवश्यकता र पिरमर्काहरु गौण हुन पुगेका छन् ।

अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौति मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ ।

संक्रमणको लहर सहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिएको छ । स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको छ । देशैभर खासगरी अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन ।

सरकारको अर्कमण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ । तर निषेधाज्ञाको असर पनि हँचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन ।

संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनु पर्ने हो । तर निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदैछ । कोभिड—१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा प्रयोग गर्दैछ ।

वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णयहरु लिदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दुरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न कांग्रेसले सरकारलाई खबरदारी गरेको छ ।

सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ । वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न सभापति देउवाले आज जेठ १३ गते एक विज्ञाप्ती प्रकाशित गरि माग गरेका छन् ।

देउवाले फेरि पनि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई पेश गरेको १५ वुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन माग गरेका छन । खास गरेर कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु वेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेका छन ।

देशको हरेक गाउँरनगरपालिका र वडा तहसम्म पिसिआर परिक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न,ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गरेका छन ।

खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गरेका छन ।

No description available.No description available.