GB Koirala Banner Ad New

थप १० लाख डोज खोप उपलब्ध गराउने चीनद्वारा घोषणा

काठमाडौं । नेपाललाई चीन सरकारले  थप १० लाख डोज कोभिड १९ खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि ८ लाख डोज खोप उपलब्ध गराएको चीनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चीन फिङबीच भएको टेलिफोन संवादपछि चीनले सो सहयोग घोषणा गरेको हो ।

नेपालका लागि चीनका राजदूत हाउ यान्छीले ट्वीट गर्दै दुई देशका राष्ट्रपतिबीच भएको संवादका आधारमा चीन सरकारले एक मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी गराउनुभएको छ ।

राष्ट्रपति भण्डारी र चीनिया समकक्ष सीबीच करिब आधा घण्टा लामो टेलिफोन संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यसैबीच आजै चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलका नेताहरुसँग भर्चुवल अन्तरक्रिया गरेको थियो ।

सो अन्तरक्रियामा नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित दलका नेताहरुले कोभिड १९ संक्रमणकाबीच नेपाललाई चीनले गरेको सहयोगको धन्यवाद व्यक्त गर्दै थप सहयोगको आग्रह गर्नुभएको थियो ।