GB Koirala Banner Ad New

बजेट निर्माणको तयारी अन्तिम चरणमा

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माण प्रक्रिया अहिले उत्कर्षमा पुगेको छ । बजेट प्रस्तुत हुन ३ दिनमात्र बाँकी छँदा अर्थ मन्त्रालयका अधिकारीहरू अति व्यस्त र दबाबमा छन् ।

प्रतिनिधिसभा विघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेश मार्फत आउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयबाटै बजेट भाषण गर्ने तयारी गरेका छन् । बजेट निर्माणमा सक्रिय नेतृत्व गरिरहेका अर्थमन्त्री पौडेल संसदमा बजेट प्रस्तुत गर्न नपाउँदा खिन्न छन् ।

संसदमा बजेट प्रस्तुत गर्न नपाउने थोरै अर्थ मन्त्रीको सूचीमा उनी पनि परेका छन् । यसअघि नेपाली कांग्रेसका अर्थ राज्यमन्त्री महेश आचार्य र डा।रामशरण महत, एमालेका सुरेन्द्र पाण्डे, भरतमहोन अधिकारी, माओवादी केन्द्रका वर्षमान पुनले संसदमा बजेट पेस गर्न पाएका थिएनन् । पछिल्लो करिब ३० वर्षीय संसदीय इतिहासमा ९ पटकभन्दा बढी बजेट अध्यादेशमार्फत प्रस्तुत गरिएको छ । वर्तमान संविधान जारी भएपछि भने यो पहिलो पटक अध्यादेश मार्फत बजेट आउदैछ ।

बजेट निर्माण अन्तिम चरणमा:

गत फागुनमा राष्ट्रिय योजना आयोगले सिलिङ पठाएसँगै बजेट निर्माणको प्रारम्भिक काम अर्थ मन्त्रालले थालेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय संघ तथा प्रदेशमा बाँडफाँड हुने सशर्त, समपुरक, विशेष अनुदानको सूत्र पठाएको थियो भने सरकारको आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयले राजस्व र करका दर तथा दायराबारे अर्थ मन्त्रालयलाई सुझाव प्रस्तुत गरेका थिए ।

पूर्वसचिव महेश दाहालको नेतृत्वमा रहेको राजश्व परामर्श विकास समितिले बजेटमा राजस्वका नयाँ संभावित स्रोतका बारेमा प्रतिवेदन बुझाइसकेको छ ।

त्यसैगरी विषयगत मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगको सिलिङभित्र रहेर बजेट माग गरी अर्थ मन्त्रालयसँग छलफल समेत सम्पन्न गरिसकेका थिए । त्यस्तै प्रदेशका मुख्यमन्त्रीहरूसँग अन्तरवित्त परिषदमा बजेट सम्बन्धी छलफल गराई आवश्यक सुझावहरू बजेटमा समावेस गर्ने काम सम्पन्न भइसकेका छन् ।

पूर्व अर्थ मन्त्री, पूर्व मुख्यसचिव, पूर्व अर्थ सचिव तथा अर्थशास्त्रीहरू, विभिन्न पेशागत संघ(संगठन, दातृ निकायहरू छलफल गरी बजेटको मस्यौदा अन्तिम अवस्थामा पुगेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगको १५ औं योजना, दीगो विकासका लक्ष्यहरू, सरकारका प्राथमिकतालाई बजेटमा समावेश गरिएको अर्थ मन्त्रालयले स्रोतले बताएको छ ।

मध्यकालीन खर्च संरचना र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ का अधिनमा रहेर बजेट निर्माण गरिएको मन्त्रालयको दावी छ ।

अर्थ मन्त्रालयले तयार पार्ने आर्थिक सर्वेक्षण, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, रातो पुस्तिका अर्थात् आयव्ययको विवरण, पहिलो पुस्तिका अर्थात सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, सेतो पुस्तिका, वैदेशिक सहायता सम्वन्धी आयोजनाहरूको स्रोतपुस्तिका लगायत एक दर्जनभन्दा बढी पुस्तिकाहरू तयार भइसकेका छन् ।

अर्थ मन्त्रीको चटारो
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा राजनीतिक नेतृत्व गरिरहेका छन् । अर्थतन्त्रका ज्ञाता नभए पनि बजेटको आकार, प्राथमिकता र केही महत्वपूर्ण कार्यक्रमहरूमा उनको चासो रहेको छ ।

अर्थ मन्त्रीका रूपमा यो उनको दोस्रो बजेट हो । कोभिड–१९ को आवश्यक सतर्कता अपनाउदै अर्थ मन्त्रालयले विगत एक महिनादेखि बजेट निर्माणको गृहकार्य तीव्र पारेको छ । अर्थ मन्त्रीसहित बजेट निर्माणको कोर टिम र अर्थ मन्त्रालयका कर्मचारीहरू बिदाका दिन पनि कार्यालय आइरहेका छन् । उनीहरू बिहान ८ बजेदेखी बेलुकी ६ बजेसम्म मन्त्रालयमा व्यस्त हुन्छन् ।

अर्थ मन्त्री पौडेलले राजनीतिक भेटघाटलाई कम गरी बढी समय बजेटको तयारीमा लगाइरहेका छन। वैशाखदेखि नै मन्त्री पौडेल बिहान ८ बजे अर्थ मन्त्रालय आउने राति अबेर निस्कने गर्दै आएका छन ।

स्वास्थ्य समग्री आयात तथा अक्सिजन प्लान्ट निर्माणका लागि स्रोत व्यवस्थापन गर्न र अन्य अतिआवश्यक काम लागि अर्थ मन्त्रीले केही समय छुट्याउने गरेका छन् । विकास तथा आयोजनाका काम बजेट अभावमा नरोकियोस् भन्नेमा पनि अर्थ मन्त्रीको चासो रहेको छ ।

उनले मेलम्ची आयोजनाको काम अगाडि बढाउन, गरिबहरूको परिचयपत्र वितरण र ३९५ स्थानीय तहमा अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड बजेट निकासाका लागि सहमति दिएका थिए ।अर्थ मन्त्रीले बजेटमा कोभिडको रोकथाम र आर्थिक पुनरउत्थानको प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

बजेट निर्माणको कोर टिम
बजेटको प्राविधिक तयारीमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, अर्थ मन्त्रालयका ५ जना सहसचिवहरूको मस्यौदा लेखन टोली र अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ सहितको कोर टिम संलग्न छ ।

फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयनुसार फागुन २३ गते अर्थ मन्त्रालयका ‘आर्थिक नीति विश्लेषण महाशाखाका’ प्रमुख डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन टोली निर्माण गरिएको थियो । टोलीमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा, प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् । बजेट मस्यौदा लेखन टीममा डा. रामप्रसाद घिमिरे, रामेश्वर दङ्गाल र सुमन दाहाल नयाँ अनुहार हुन । अरु सबै जना चालू आर्थिक वर्षको बजेट निर्माण टिममा संलग्न भई काम गरिसकेका प्रशासक हुन् ।

अर्थ सचिवका रूपमा शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीको यो दोस्रो बजेट हो । राजस्व सचिवका रूपमा ढुंगानाले अर्थ मन्त्री डा. युवराज खतिवडाका पालामा बजेट निर्माणको टिममा रहेर काम गरिसकेका छन् ।

अर्थ सचिव हुनुभन्दा अगाडि उनी प्रधानमन्त्री कार्यालय सचिव रहेर केही समय काम गरेका थिए । अर्थ मन्त्रालय अन्तर्गत नै रहेर आफ्नो करिअर गुजारेका ढुंगाना बजेट निर्माणमा अनुभवी र दक्ष मानिन्छन् ।

बजेट मस्यौदा लेखन टिममा रहेका सहसचिव डा. रामप्रसाद घिमिरे फागुन १४ गते अर्थ मन्त्रालय तानिएका थिए । उनलाई अर्थ मन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसअघि उनी श्रम मन्त्रालयबाट अर्थ मन्त्रालय हुँदै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सचिवका रूपमा काम गरेका थिए । श्रम मन्त्रालयमा रहँदा उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसिया र जापानसँग श्रम सम्झौता गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अहिले घिमिरेले अर्थ मन्त्रालयमा बजेट मस्यौदा लेखनको टोली नेताको भूमिका निर्वाह गरिरहेका छन् । घिमिरे र राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल तथा प्रशासन महाशाखाका सुमन दाहाल पहिलो पटक बजेट मस्यौदा लेखनको टिममा रहेर काम गरिरहेका छन् ।

दंगाल गत पुसमा गण्डकी प्रदेशको सचिवबाट अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी हुँदै राजस्व महाशाखाको जिम्मेवारी पाएका हुन् । यसअघि उनी अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगको सहसचिवबाट सरुवा भएर भन्सार विभागका महानिर्देशकमा रही ६ महिना काम गरेका थिए ।

प्रशासन क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएका सुमन दाहाल सहसचिव भएपछि अर्थ मन्त्रालयको प्रशासन महाशाखामा तानिएका थिए । उनी रामेश्वर दंगालपछि भन्सार विभागको महानिर्देशकको रूपमा करिब डेढ वर्ष काम गरेर त्यहाँबाट अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै पुनस् प्रशासन महाशाखा रही बजेट मस्यौदा लेखनको काममा व्यस्त छन् ।

बजेट निर्माणको सम्पूर्ण कामहरू अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव महेश आचार्यले बताए । ‘अहिले बजेट निर्माणको कोर टिमले तीव्ररूपमा काम गरिरहेको छ, अबको दुई दिनमात्रै रहेकाले केही अंकगणितीय जोडघटाउ र भेरिफाइ गर्ने कामहरू भइरहेको छ,’ उनले भने ।

त्यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले डा. युवराज खतिवडाको दुई वटा बजेट लेखन मस्यौदा टोलीमा रहेर काम गरिसकेका छन् । बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रिय योजना आयोगसँग प्रत्यक्ष सम्पर्कमा रही बजेट निर्माण तथा लेखनमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । बजेट तथा कार्यक्रम महाशाखाले बजेटको आकार तथा सिलिङ्ग निर्धारण गर्ने र अन्य विषयगत मन्त्रालयसँग बजेट निर्माण तथा नयाँ आयोजना र कार्यक्रमका विषयमा छलफलको नेतृत्व गर्ने गर्दछ । यस बिषयमा महाशाखा प्रमुख शर्मासँग ३ वर्षको अनुभव रहेको छ ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल पनि बजेट निर्माण कोर टिममा रहेर काम गरिरहेका छन् । गत वर्ष पनि उनी उक्त महाशाखामा रही बजेट निर्माण कार्यमा संलग्न रहेका थिए । ज्ञानप्रसाद ढुंगानाबाट