काठमाडौं । कोरोना सङ्क्रमण बढिरहे पनि काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा भीड कम हुन सकेको छैन ।कालीमाटीमा भीड नियन्त्रण गर्न भन्दै केही समय अघिदेखि खुद्रा बजार बन्द छ । तर, पनि भीड कम हुन सकेको छैन । तरकारी बजारमा भीड नियन्त्रण गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई चुनौती बढेको छ ।
बजारमा हुने गरेको भीड नियन्त्रण गर्न समितिले दिनहुँ छलफल थालेको छ । बजारमा जोरबिजोर प्रणालीमा लागू गर्ने वा आलोपालो प्रणालीमा जाने भन्ने विषयमा छलफल भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार आज पनि समितिको बैठक बस्दैछ । बजार व्यवस्थापनका लागि भन्दै गठन भएको बजार व्यवस्थापन सहजीकरण उपसमितिले सिफारिस गरेको आधारमा निर्णय गर्ने समितिको तयारी छ ।
निर्णय कार्यान्वयनमा नै चुनौती
भीडभाड कम गर्न भन्दै कालीमाटी फलफूल तथा तरकारी विकास समितिले बजारमा दुई पाङ्ग्रे गाडीलाई प्रवेशमा निषेध गर्ने निर्णय गर्यो । तर, त्यो निर्णय कार्यान्वयन भने गर्न सकेन । एक/दुई दिन यो नियम लागू भए पनि व्यावहारिक नभएको भन्दै फेरि दुई पाङ्ग्रे गाडीलाई पनि बजारमा प्रवेश दिइएको छ ।
‘बजारमा प्रवेश नदिँदा मोटरसाइकल, साइकलमा तरकारी लिन जानेहरुले बजार बाहिर जतासुकै रोकेर राख्ने प्रवृत्ति बढ्यो, यसले झन् समस्या निम्त्याएपछि हामीले त्यो निर्णय कार्यान्वयन गर्न जोड दिएनौँ’, श्रेष्ठले भन्नुभयो । काठमाडौंको ठूलो बजार भएकाले पनि चाप बढेको उहाँले बताउनु भयो ।
बजार खुले लगत्तै चार पाङ्ग्रे गाडीको चाप बढ्ने गरेको छ भने त्यसपछि दुई पाङ्ग्रे गाडीमा तरकारी किन्नेहरुको भीड हुने गरेको छ । राति १ बजेदेखि खुल्ने कालीमाटीको थोक बजार बिहान १० बजेपछि भने बन्द हुन्छ ।
बजारमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही
बजारमा स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ नहुँदा जोखिम अझ बढेको छ । मापदण्ड पालनामा दिनहुँ माइकिङ भइरहे पनि अनुगमन नहुँदा लापरबाही भएको छ । व्यक्ति आफैँ सचेत नहुँदा चुनौती बढ्दै गएको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ ।
‘हामीले हरेक दिन स्वास्थ्यका मापदण्ड पालना गर्न माइकिङ गर्दै आएका छौँ, तर व्यक्ति आफैँ सचेत नहुँदा प्रभावकारिता कम देखिएको छ’, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार थोक बजारका व्यापारीले मास्क लगाए पनि त्यसको सही प्रयोगमा ध्यान दिने गरेका छैनन ।
क्षणिक लाभका कारण बजार जानेहरु बढ्दा कोरोनाको सङ्क्रमण फैलने सम्भावना बढेको छ । कालीमाटी बजारमा व्यापारीको नजिक भएर काम गर्ने १२ जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । अहिले उनीहरुलाई बजार आउन दिइएको छैन उनीहरुको नजिकमा रहेकालाई पनि परीक्षण गराउन भनिएको समितिले जनाएको छ । तरकारी र फलफूल अत्यावश्यक भएकाले थोक बजार बन्द गर्न नसक्ने समितिले जनाएको छ।
केही दिन सस्तिएको तरकारीको भाउ फेरि बढ्यो
काठमाडौं उपत्यकामा निषेधाज्ञापछि हरियो तरकारीको भाउ सस्तिए पनि अहिले फेरि उकालो लाग्न थालेको छ । बजारमा अहिले दैनिक साढे ५ सयदेखि ६ सय मेट्रिक टन तरकारी भित्रिने गरेको छ । बजार भित्रिएका लगभग सबै तरकारीको कारोबार हुने गरेको समितिले जनाएको छ ।
समितिका अनुसार तरकारीको माग र आयात दुवै भइरहेकाले केही दिन अघिको तुलनामा भाउ बढेको हो । तरकारीको आयात भइरहेकाले अब भाउ बढ्ने सम्भावना भने कम रहेको पनि समितिले जनाएको छ ।






























