काठमाडौँ । काठमाडौँ महानगरको अनुदान सहयोगबाट आजदेखि नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा उक्त आइसोलेसनको शुभारम्भ गर्नुभएको हो । आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगर र अस्पताल विच गएको बैशाख २७ गते सम्झौता भएको थियो ।
एक पटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि काठमाडौँ महानगरले अनुदान उपलब्ध गराउने छ । अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा २५ वेडको एचडीयू र २५ वेडको आइसोलेसन बाट सेवा थालिएको हो ।
सेवा सुरु गरिसकेपछि प्रतिक्रिया दिँदै राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘अस्पतालमा सञ्चालनमा अक्सिजन अनिवार्य हो । विगतमा भएका कमजोरीका कारण अहिले अक्सिजनको अभाव देखियो ।
अब सरकारले यसलाई सुधार गर्नेछ ।’ स्वस्थ्य जीवनका लागि परम्परागत सीपको प्रयोग उपयोगी हुने बताउँदै राज्यमन्त्री मानन्धरले वरिपरिका अस्पतालहरुका विचमा सञ्जाल विस्तार गरेर विरामीहरुको उपचार प्रक्रियालाई व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो ।
अस्पतालको क्षमता बढाउँदै जाऔँ । यससँगै संक्रमणको मात्रा घटाउनमा ध्यान दिनुपर्छ । आइसोलेसन सञ्चालनपछि काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘जनताको जीवन रक्षाका लागि महानगरले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको छ ।’
जनताको जीवन बचाउनु स्थानीय सरकारको जिम्मेवारी हो । यो दायित्वलाई बोध गरेर हामीले विकास खर्च रोकेर स्वास्थ्य क्षेत्रमा खर्च बढाएका छौँ, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘देशभरिका जनता काठमाडौँमा भएकाले हामीले अलि धेरै दायित्व बहन गर्नुपर्नेछ ।’
अस्पतालहरुमा विरामीले पाएका फरक फरक खालका दुृःख झेलेका छन् । ती दुःख वडामा आएर जनप्रतिनिधिलाई सुनाउँछन् । हामी चाहन्छौँ, उपचारका लागि कसैले पनि कुनै खालको समस्या झेल्नु नपरोस् ।
वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले प्रतिक्रिया दिँदै भन्नुभयो, सबै मिलेर सकेसम्म अस्पताल जानु नपर्ने, गए पनि सहज उपचार पाउने व्यवस्था मिलाऔँ ।
कोविड उपचारका लागि आयुर्वेद उपचार पद्धतिको उल्लेख्य योगदान हुन सक्छ । यसलाई समयमा विज्ञानसँग जोड्न नसकिएकोले महामारीमो यसको ज्ञान ओझेलमा प¥यो । आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले महानगरले उपयोग हुन नसकेको ज्ञान र सीपलाई विस्तार गर्न सहयोग गरेपछि अस्पतालले यसको सिद्ध गर्न काम गर्नुपर्ने बताउनुभयो ।
अस्पतालले भर्ना भएका विरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण गर्ने, अक्सिजन थेरापी गराउने, ध्यान योग र मनोसामाजिक परामर्श गर्ने, श्वाशप्रश्वाश अभ्यास र छातीको थेरापी गराउने, चिकित्सा एवं मानसिक स्वास्थ्य प्रर्वधनका लागि सत्वावजय (आध्यात्मिक प्रवचन, उत्प्रेरणामूलक प्रवचन, हास्यासन लगायत विधि अपनाउने छ ।
दैवब्यापाश्रय चिकित्सा अन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, संकटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, संगीत चिकित्सामा राग, भजन, वाद्यवादन गराउनेछ ।
आधुनिक चिकित्सा अन्तर्गत कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल अफिसरहरूले बिरामीको स्वास्थ्य जाँच र उहाँहरुको शिफारिस अनुसारको उपचार गरिनेछ ।
अस्पतालले आयुर्वेद तर्फ ७ जना कन्सल्टेन्ट र आधुनिक चिकित्सा तर्फ २ जना कन्सल्टेन्ट सहित १२ जना आयुर्वेद चिकित्सक, ४ जना मेडिकल अफिसर, २२ जना नर्सिंङ् स्टाफ, २ जना फिजियो थेरापिस्ट, १५ जना आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन ५ जना र सफाइ तथा सहयोगी कर्मचारी २५ जनालाई आइसोलेसनका लागि खटाएको छ ।































