GB Koirala Banner Ad New

धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढे

दार्चुला । धौलीगङ्गा नदीमा दिनानुदिन भइरहेको वर्षाका कारण पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको छ ।

नदीमा पानीको बहाव बढेपछि परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ । भारतीय विद्युत निर्माता एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो ।

त्यही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचनामार्फत नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतले निर्माण गरेको परियोजनास्थल भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरु पर्छन् । यस क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गर्नुभएको छ ।

२०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भूभाग बगाएको थियो । पछिल्लो समय नेपालले विरोध जनाएपछि भारतले धौलीगङ्गामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्ने गरेको छ । रासस