ललितपुर । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक सिलिन्डरको अभाव देखिए पश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहेका २ सय ३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पतालहरुलाई बुझाएको छ ।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पताल धपाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरुको रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको बिबरण समेत माग गरी स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइvदिनुहुन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।































