काठमाडौं । भारत सरकारको नेरु। २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हालै पुर्नस्थापना गरिएको साना जलविद्युत प्लान्टको २०७८ साल वैशाख २२ गते भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यम मार्फत उद्घाटन गरियो ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।
उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुर्नस्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २०,००० मानिसहरु यस प्लान्टबाट लाभान्वित हुनेछन् ।
भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैर सरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
यस परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थ व्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ ।






























