GB Koirala Banner Ad New

विश्व बैंकले कोभिड खोपका लागि नेपाललाई ७ करोड ५० लाख डलर ऋण सहायता गर्ने

काठमाडौं । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको गत बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त ऋण अनुमोदन गरेको हो । सुरक्षित र प्रभावकारी कोभिड १९– विरुद्धको खोपमा नेपालीको समान पहुँच पुर्याउन र नेपालको स्वस्थ्य सेवा तथा खोप अभियानलाई सुदृढ गराउन सहयोग प्रदान गर्न लागिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंक अन्तर्गतको ‘इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए)’ मार्फत ऋण सहयोग उपलव्ध हुनेछ ।

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का निर्देशक फरिस हदाद जर्भोसका अनुसार यो महामारीले विशेषगरी खोप खरिद, आपूर्ति, तथा वितरणमा ठूलो चुनौती र अनिश्चितताको वातावरण उत्पन्न गरेको छ ।

उनले भने, ‘७०५ जनसंख्यामा कोरोना विरुद्धको खोप लगाउने नेपाल सरकारको महत्वाकांक्षी योजनामा सहयोग गर्न विश्व बैंकले तत्काल चालेको कदमले नेपाल र विश्व बैंकबीचको बलियो साझेदारी पुष्टि हुन्छ ।

विश्व बैंकले सन् २०२० कोे अप्रिलमा पनि २ करोड ९० लाख डलर ऋण सहयोग अनुमोदन गरेको थियो । बिहीबार अनुमोदित ऋण सहयोगको ९०% रकम कोभिड विरुद्धको खोप खरिद र प्राथमिकतामा परेका जनसंख्यासम्म पुर्याउने काममा खर्च हुनेछ । बाँकी रकम भने स्वास्थ्य व्यवस्था सुधारका काममा खर्च हुनेछ ।