GB Koirala Banner Ad New

काठमाडौं महानगरपालिकाले पार्क निर्माणका लागि ५ नगरपालिकालाई ५ करोड सहयोग गर्‍यो

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत बुधवार उपत्यकाका पाँच नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रम पछि महानगरपालिकाले पाँच नगरपालिकालाई सम्झौतापत्र अनुरूपको चेकसमेत हस्तान्तरण गरेको छ । बुधवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौता सहित चेक हस्तान्तरण गर्नुभएको हो ।

महानगरपालिकाले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर थिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिनुभयो ।

सम्झौता अनुसार दक्षिणकाली नगरपालिका क्षेत्रभित्र रहेको वडा नम्बर ५ गोरखनाथ डाँडामा रहेको बहुद्देश्यीय उद्यान निर्माणका लागि थप एक करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । यसअघि पनि त्यही उद्यान निर्माणका लागि महानगरपालिकाले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी तारकेश्वर नगरपालिकाको भौगोलिक क्षेत्रभित्र रहेको वडा नम्बर ५ को भ्यु टावर र वडा नम्बर २ को तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । यसअघि तारकेश्वर धाम निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्र भित्र रहेको वडा नम्बर १ मा रहेको कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि एक करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि पनि यस नगरपालिकालाई एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क निर्माणका लागि पनि बुधवार नै सम्झौतापत्रमा हस्ताक्षर गरी काठमाण्डौ महानगरपालिकाले एक करोड रुपैयाँ प्रदान गरेको छ ।

यस नगरपालिकाको भौगोलिक क्षेत्रभित्र रहेको वडा नम्बर १,२ र १० लाई समेटी झण्डै ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भइरहेको छ ।

त्यस्तै मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ४ मा निर्माणाधीन शङ्खधर पार्क निर्माणका लागि महानगरपालिकाले थप एक करोड रुपैयाँ सहयोग गरेको छ । त्यहाँ पनि झण्डै १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ ।

भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौं महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि एक करोड रुपैयाँ दिने भएको छ । बिहीवार चाँगुनारायण नगरपालिकाका मेयर उपत्यका बाहिर रहेकाले छिट्टै त्यस सम्झौतामा पनि हस्ताक्षर गर्ने काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाले चन्द्रागिरि नगरपालिकालाई पनि मातातीर्थ पार्क निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । चन्द्रागिरि नगरपालिकाका मेयर पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ । यसअघि पनि यस नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि महानगरपालिकाले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

केही समयअघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि बुधवार नै मेयर शाक्यले त्यस क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड पचास लाख रुपैयाँ सहयोगको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा ती सबै नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रम पछि सम्बोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै काठमाडौं  उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको बताउनुभयो ।

‘हामीले जुन–जुन नगरपालिकासँग सम्बन्ध कायम गरेका छौँ, ती–ती नगरपालिकासँग आत्मियता बढेको छ’, उहाँले भन्नुभयो, ‘त्यहाँका स्थानीयमा पनि महानगरपालिका हाम्रो पनि हो, हामीले पनि माया गर्नुपर्छ, महानगरलाई बनाउन हामीले सहयोग गर्नुपर्छ भन्ने भावना जागृह हुने अपेक्षा गरेका छौँ ।’

शाक्यले सम्पदा, पर्यटन र पर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराउनुभयो । ‘यहाँ मानव निर्मित सम्पदा छन् । विश्व सम्पदा सूचीमा सूचीकृत चार सम्पदा छन् । अन्य नगरपालिकामा हेर्ने हो भने प्रकृति निर्मित सम्पदा छन्’, उहाँले भन्नुभयो, ‘हामी यी दुईबीचको सम्बन्ध स्थापना गर्ने र आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पनि यो सम्झौता गरिरहेका छौँ ।’

काठमाडौं महानगरपालिकाले यसअघि काठमाडौंका १० नगरपालिका र भक्तपुरको मध्यपुर थिमीलाई नगर–नगर साझेदारी अन्तर्गत सहयोग गरेको थियो । महानगरपालिकाले पहिला सहयोग गरेका परियोजना सफल भएको अवस्थामा मात्रै थप सहयोग गर्ने नीति लिएको छ ।