GB Koirala Banner Ad New

सरकारले हालका लागि कोरोना विरुद्धको खोप अभियान स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य  मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता  डा. गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।

अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्य अनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी  हिजो मङ्गलवारसम्म चलेको थियो । अभियान अन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।

यसैबीच खोप अभियानको पहिलो चरण अन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्रो मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता  डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । दोस्रो चरण अन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दोस्रो मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने प्रवक्ता  डा. गौतमले जानकारी दिनुभयो ।