काठमाडौँ । कमलपोखरीको जग्गा मिच्नेलाई म्याद तामेल गर्न नसकिएको १४ वर्ष भयो । नेपाल सरकारका नाममा नापी भएपछि पोखरी लगत अभिलेखअनुसार कडेल्चोक भगवतीका नाममा कायम हुन सकेपछि जग्गा मिच्नेउपर कारबाही गर्न सकिएको छैन ।
गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार तत्कालीन भूभिसुधार तथा व्यवस्था मन्त्रालयमा पोखरी सरकारका नामबाट कडेल्चोक भगवतीका नाममा कायम गर्न गरिएको अनुरोध अगाडि नबढेपछि जग्गा मिच्नेउपर संस्थानले म्याद समेत तामेल गर्न पाएको छैन । अहिले कमलपोखरीको निर्माण सुधार कार्य थालिएपछि पोखरी चर्चाको विषयमा छ ।
काठमाडौँ महानगरपालिकाले पोखरीलाई सुधार गर्न र रमणीय बनाउन काम थालेको छ । महानगरका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार पोखरीलाई साबिक अनुसार पुरातात्विक महत्व कायम गर्दै सुधार गर्नुपर्छ भन्ने जनमत छ, सम्पदाप्रेमीले यहाँ कङ्क्रिटसहितको निर्माण हुन दिनुहुन्न भनेर चर्को विरोध गरिरहेका छन् ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पोखरी सम्पदा रहेकाले यसको महìवलाई खलल पुग्न हुन्न भन्ने विभागको अडान छ । यसको संरचना कस्तो बनाउने भन्ने दुई मतबीच चर्किएको विवादले पोखरी चर्चामा छ ।
साबिकमा ४८ रोपनी रहेको यो जग्गाको उत्तरतर्फ चार रोपनी चानचुन जग्गा विभिन्न व्यक्तिले आफ्नोमा घुसाएको ठहर गुठी संस्थानको छ ।
प्रवक्ता थपलियाका अनुसार जग्गा आफ्नोमा घुसाउनेको फेहरिस्त अभिलेख संस्थानसँग छ तर राजगुठीअन्तर्गत कडेल्चोक भगवतीको नाममा पोखरी कायम हुन नसकेपछि जग्गा मिच्नेविरुद्ध कारबाही अगाडि बढेन ।
महानगरपालिकाले पोखरीको दक्षिण र पश्चिम भागका संरचना भत्काएर सुधार थालेको छ । महानगरपालिका १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ अहिले भइरहेको विकास सुधारलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुहुन्छ ।
जग्गा मिच्नेलाई तत्कालीन राजा वीरेन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कारबाही गर्नु भनेको थियो तर कारवाही नभएको थपलियाको भनाइ छ ।































