GB Koirala Banner Ad New

काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबिच सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबिच सरसफाइ र स्वच्छताका लागि व्यवसायिक तालिम सञ्चालनका गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयकातर्फबाट स्कूल अफ इञ्जिनियरिङ् डीन डा. डम्बरबहादुर नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताबमोजिम महानगरले पठाएका २० जनालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्ट अन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) उपलब्ध गराउनेछ । तालिम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटि) मा एक हप्ताको कक्षामा सहभागी गराइने छ । तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट १ जना र एआइटिबाट १ जना प्रतिनिधिसहित ३ जनाको समितिले काम गर्नेछ ।

तालिमका लागि आवश्यक ८१ लाख रुपैयाँ खर्चमध्ये ५८ लाख रुपैयाँको दायित्व महानगरले लिनेछ भने बाँकी विश्वविद्यालयले व्यहार्नेछ । महानगरले व्यहार्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र ३ महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । तालिम आउँदो मार्च ५ तारिखबाट ९फागुन २१० गतेबाट सुरु हुनेछ । महानगरले तालिममा सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइ सक्नुपर्नेछ ।

दुईपक्षीय साझेदारिताका विषयमा बोल्दै महानगरका प्रमुख शाक्यले भन्नुभयो — ‘राम्रो कार्यक्रम भएर पनि कार्यान्वयन भएन भने परिणाम आउँदैन । यसअघि महानगरले अघि सारेका थुप्रै राम्रा कार्यक्रम कार्यान्वयन भएनन् ।

तर, अहिलेको सम्झौता कार्यान्वयन हुनेमा मैले विश्वाश लिएको छु । शैक्षिक प्रतिष्ठानसँग गरिएको सम्झौता कार्यान्वयन हुन्छ कि हुन्न भनेर शंका गर्नु हुँदैन ।’ सहरमा उत्पादन भएको फोहोर व्यवस्थापनको प्रसङ् उल्लेख गर्दै उहाँले भन्नुभयो — ‘आफूले उत्पादन गरेको दिशा पिसाब कसले कसरी व्यवस्थापन गरिरहेको छरु सहरबासी धेरैले सोच्नु नै भएको छैन । सोच्नेले पनि व्यवस्थापनमा सहयोग गर्नुभएको छैन ।

यसो गरिदिए राम्रो हुन्छ त सबैले भन्नुहुन्छ तर आफ्ना भागमा परेको दायित्व निर्वाह गर्नुहुन्न । सहरमा सरसफाइका क्षेत्रमा देखिएको चुनौती यही हो ।’ काठमाडौंमा शिशिष्ट जनशक्तिको बसोबास छ । उहाँहरु अन्तरराष्ट्रिय बजारमा विकाउ हुनुहुन्छ । उहाँहरुले सहरी सफाइमा दायित्व लिने हो भने सहर छिट्टै स्वच्छ हुन्छ । तर, यसो हुन सकेन । प्रमुख शाक्यको भनाइ थियो ।

शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो — ‘महानगरले जनस्वास्थ्य, वातावरणीय सुृधार, प्रदुषण नियन्त्रणजस्ता समस्या समाधान गर्न अनुसन्धानमुलक कामका लागि शैक्षिक प्रतिष्ठानहरुसँग सहकार्य गर्छ । काठमाडौं विश्वविद्यालयसँगको सहकार्य यस क्रमको शुरुवात हो ।’

काठमाडौं महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो । स्कूल अफ इञ्जिनियरिङ्का डीन डा। नेपाली भन्नुहुन्छ — ‘हामीले धेरै कामका लागि धेरै साझेदारसँग सम्झौता गरेका छौं । तीमध्ये यो सबैभन्दा महत्वपूर्ण छ ।’ सहरमा सरसफाइ पुगेन भन्दा अप्ठ््यारो मान्नु पर्दैन । किनभने सहरी स्वच्छताका लागि धेर्रै काम गर्न बाँकी छ । हाम्रो सहकार्यपछि महानगरको कामका परिणाम देखिने हामीले अपेक्षा गरेका छौं, डीन नेपालीको भनाइ थियो ।