GB Koirala Banner Ad New

गुजरातमा आयोजित ‘पावर अन कन्फ्रेन्स’मा नेपालमै उत्पादित एशियन ब्याट्रिजको प्रदर्शनी

काठमाडौँ / नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै एशियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने अभियान अघि बढाएको छ।

भारतको गुजरातमा जनवरी २३ देखि २५, २०२६ सम्म आयोजित ‘पावर अन कन्फ्रेन्स’ मा एशियन ब्याट्रिजले नेपालमै उत्पादन गरिएका अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक प्रयोजनका विभिन्न ब्याट्रीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनीमार्फत नेपाली उत्पादन पनि गुणस्तर, प्रविधि र विश्वसनीयताका दृष्टिले अन्तर्राष्ट्रिय स्तरको हुन सक्छ भन्ने सन्देश प्रवाह भएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधिका अनुसार अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता केवल व्यापार विस्तार मात्र नभई ‘मेड इन नेपाल’लाई विश्वसामु गर्वका साथ स्थापित गर्ने प्रयास हो। “हामी अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुनु केवल व्यावसायिक उपलब्धि होइन, यो राष्ट्रिय गौरवको विषय हो। नेपाल पनि सक्षम उत्पादन राष्ट्र हो भन्ने सन्देश विश्वलाई दिन चाहन्छौँ,” कम्पनीका प्रतिनिधिले बताए।

एशियन ब्याट्रिज लिमिटेडले आधुनिक उत्पादन प्रविधि, कडा गुणस्तर नियन्त्रण तथा दिगो अभ्यासहरू अपनाउँदै आएको छ, जसले अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खानुका साथै नेपाली सीप र आत्मनिर्भर सोचलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।

नेपाल आत्मनिर्भर अर्थतन्त्र र निर्यातमुखी विकासतर्फ अघि बढिरहेको सन्दर्भमा एशियन ब्याट्रिज जस्ता उद्योगहरूले नेपालको औद्योगिक पहिचान विश्व बजारमा मजबुत बनाइरहेका छन्। कम्पनीले अन्तर्राष्ट्रिय वितरक, साझेदार तथा खरिदकर्ताहरूलाई नेपाली उत्पादनसँग सहकार्यका अवसरहरू खोज्न आमन्त्रण गरेको छ।

नेपालस्थित एशियन ब्याट्रिज लिमिटेडले अटोमोटिभ, सोलार, इन्भर्टर तथा औद्योगिक ब्याट्री उत्पादन गर्दै आएको छ। कम्पनीले गुणस्तर, नवप्रवर्तन र नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।