GB Koirala Banner Ad New

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा : बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ ।

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भनेका छन् ।

‘नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेश गरेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ ।