काठमाडौं । ८ प्रतिशत बोनस शेयर पारित गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।
कम्पनीका अध्यक्ष राजिब सापकोटाले विश्वव्यापी महामारी कोभिड १९ को कारणले कम्पनीको दैनिक काम काजमा समेत लामो समयसम्म बाँधा पुग्नुका कारणले वित्तीय विवरण तयार गर्न अधिक समय लगाउनु परेको बताएका छन् ।
कम्पनीले आफ्ना सम्पुर्ण सेवाहरुलाई ग्राहक मैत्री बनाई बीमा बजारमा ग्राहकहरुको मन जित्त सफल भएको अध्यक्ष सापकोटाले दाबी गरे । व्यवसाय बृद्धिबाट पनि यो केहि हदसम्म प्रमाणित भएको र आगामी दिनमा व्यवसाय बृद्धिको साथ साथै त्यसबाट प्राप्त हुने प्रतिफल तथा शेयरधनीलाई प्रदान गर्ने लाभांशमा समेत अझ बढि ध्यान दिईने उनले प्रतिवद्धता व्यक्त गरे ।
विगत २७ वर्षमा कम्पनीले बीमा बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बताए । आगामी दिनमा समेत ग्राहकहरुको हितलाई सर्वोपरी राख्दै कम्पनीले आफ्नो सेवालाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने तथा कम्पनीको सेवालाई अझ बढि उत्कृष्ट र ग्राहक मैत्री बनाउदै लैजाने कुरामा गौतमले प्रतिवद्धता व्यक्त गरे ।
समयमै नियमानुसार दाबी भुक्तानी गर्नु पर्छ भन्ने कुरालाई अत्यान्तै महत्व दिदै छिटो छरितो तरिकाले दाबी भुक्तानी गर्दै आइरहेको र यस कुरा तर्फ कम्पनी सधै प्रतिवद्ध रहेको गौतमले बताए ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले भोगचलन गरेको भवन रहेको जग्गाको लालपुर्जा एभरेष्ट ईन्स्योरेन्स समेतको संयुक्त नाममा रहेको र सो सम्बन्धमा स्थानिय निकायलाई बुझाउनु पर्ने घर जग्गा कर पनि नियमित रुपमा बुझाउदै आएको छ ।
सो जग्गामा कम्पनीको भवन निर्माणको लागि काठमाण्डौ महानगरपालिकामा नक्सा दर्ता गरि निर्माण सुरु गरिएकोमा हालसम्म पनि सो भवनको नक्सा पास भएको छैन । हाल सम्म खर्च भएको एक करोड २० लाख ६६ हजार रुपैयाँ पूँजीगत खर्चको रुपमा लेखाङ्गन गरिएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ ।




























