GB Koirala Banner Ad New

प्रभु इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी एक अर्ब नाघ्यो

काठमाडौं । आज जेठ ६ गते सम्पन्न प्रभु इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ ।

उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, १० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका वाबजुद  प्रभु इन्स्योरेन्सले बीमा क्षेत्रमा एक सफल तथा फरक पहिचानलाई निरन्तरता दिन सक्षम रहेको बताएको छ ।

साथै, व्यवसाय वृद्धि, दावी भुक्तानी तथा खर्चको सफल व्यवस्थापन गर्दै आम्दानी वृद्धि गरेका कारण सेयरधनीलाई प्रतिफल दिन सक्षम भएको कम्पनीले बताएको छ ।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ । नयाँ नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिएको छ ।

साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।