काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानलाई दिनुपर्ने रकम तुरुन्त भुक्तानी गर्न निर्देशन दिएका छन्।
उनले सोमवार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानलाई दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन्।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले भने, “किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।”






























