GB Koirala Banner Ad New

२ हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से

काठमाडौं- साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता शेयर ७१ हजार आठ सय ८० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार बराबरको कारोबार भएको छ ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह एक दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ४२ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।