GB Koirala Banner Ad New

नेपाल चेम्बर अफ कमर्सद्धारा अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भिटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो ।

चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्रीहरू वितरण गरेको हो । चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक  मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ । वीर अस्पतालका तर्फबाट प्रा.डा.रमिला श्रेष्ठले स्वास्थ्य सामग्री बुझेका हुन् ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. पवनराज चालिसेले सामग्रीहरू बुझ भने छत्रपाटी निःशुल्क चिकित्सालयबाट डा.मनोज श्रेष्ठले स्वास्थ्य सामग्रीहरू बुझेका हुन् ।

यस्तै चेम्बरको टोलीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई सामग्रीहरू हस्तान्तरण गरेको छ । परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतिले सामग्रीहरू बुझेका छन् ।