काठमाडौं । खानीखोला हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ९० लाख ५७ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष यसको नोक्सानी १० करोड १२ लाख २६ हजार रुपैयाँ थियो । कम्पनीको हालै बसेको सञ्चालक समितिको वैठकले ‘आरसिओडी’ सम्पन्न भएको मितिदेखि चैत २०७८ सम्म नेपाल विद्युत् प्रधिकरण (नेविप्रा) को कारणले गर्दा खेर गएको विद्युत्को करिब ४० करोड रुपैयाँ नेविप्रासँग दाबी गर्ने निर्णय गरेको जनाएको छ ।
तथापि, यो दाबी गरेको रकम वित्तीय विवरणमा भने समावेश नगरिएको कम्पनीले भनाई छ । कम्पनीले निर्माण गरेको आयोजनाहरुबाट उत्पादित विद्युत् जोड्ने मातातिर्थ–माल्टा ३३ केभी प्रसारण लाइनको निर्माण कार्य नेविप्राले समयमा सम्पन्न नगरिदिएकाले उत्पादित विद्युत् खेर गरेको कम्पनीले जनाएको छ ।
यसअवधिमा खानीखोला हाइड्रोपावरले विद्युत् बिक्रीबाट ७ करोड २६ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०३,९५ प्रतिशत ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ५६ लाख १ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा खानिखोलाको प्रति सेयर आम्दानी २१ रुपैयाँ २७ पैसा ऋणात्मक छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि २९ रुपैयाँ ४१ पैसा ऋणात्मक छ ।































