GB Koirala Banner Ad New

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर कोडबाट ‘मोटर भाडा’ भुक्तानी गर्न सकिने

काठमाडौँ । मेगा बैंक नेपालले गागलफेदी यातायातद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट मोटर भाडा भुक्तानीको सुविधा मिलाएको छ । विशेष कार्यक्रम मार्फत मेगा बैंक र गागलफेदी यातायात बीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए । यस्तै, गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको ब्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी ब्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुबैलाई सहज हुने बताए।

गागलफेदी यातायातका संचालकहरु बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य शेयरधनीहरुको उपस्थिति थियो । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ ।

नगदरहित भुक्तानी ब्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप मेगा बैंकले देशभरका बिभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने ब्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।