काठमाडौं । कविहरुको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ पुन सुरु भएको छ । यसको केही एपिसोड छायाँकन गरिएको र अब यो यही २९ माघबाट हिमालय टिभीमा प्रसारणमा आउने आयोजक पक्षले जनाएको छ । यो शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रशारण हुने जनाईएको छ ।
काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यो कार्यक्रममा निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले सो जानकारी दिएका हुन् । साहित्यकारहरुको लागि यो नेपालका सबैभन्दा ठुलो राशी पुरस्कार भएको मौलिक रियलिटी शो भएको पनि उनले जिकिर गरे ।
यसपटकको सिजन २ को निर्णायकमा बिप्लब प्रतिक, उपेन्द्र सुब्बा, अनुप बराल र केकी अधिकारी रहेका छन् । केकीलाई निर्णायक बनाएकोमा साहित्य क्षेत्रबाट निकै ठुलो टिका टिप्पण अहिले पनि भईरहेको छ । यी चार मध्य बिप्लब र उपेन्द्र कवि हुन भने अनुप नाट्यकर्मी तथा केकी अभिनेत्री हुन् । यो प्रतियोगिताको बिजेताले उपाधि सहित १० लाख रुपैंया प्राप्त गर्ने छ । यो शोको ३१ एपिसोड हुने छ ।
निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताएका थिए । निर्देशन अधिकारी भन्छन्, ’यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।’































