GB Koirala Banner Ad New

ज्ञानेन्द्र गदालको शब्द र रामकृष्ण ढकालको स्वरमा ‘माया हुन्छ भनन’ सार्वजनिक

काठमाडौं : वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीत र गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ सार्वजनिक गरिएको छ ।

गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियो बिहीबार काठमाडौंमा म्युजिक नेपालले एक समारोहबीच सार्वजनिक गरेको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । ‘माया हुन्छ भनन’लाई म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा संगीतकार बासकोटा, गायक ढकाल, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्कालगायतको उपस्थिति रहेको थियो । म्युजिक भिडियोमा स्वयं गायक ढकाल र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ ।कार्यक्रममा गायक ढकालले केही गीतहरु गाउँदा उपस्थितहरुबाट वान्स मोर र हुटिङ गर्दा रमाइलो माहोल बनेको थियो ।

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार गदाल नेपाली गीत, कथा, कविता, गजललगायतको विभिन्न साहित्यिक लेखनमा निरन्तर लागिरहेका छन् । गदाल नेपालको साहित्य क्षेत्रमा योगदान गरेबापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन् ।