काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले भोलि फागुन २१ गते शुक्रबारबाट आइपीओ खुला गर्दैछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९वार्षिक० र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।
क्रेडिट रेटिङ
ज्योतिको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । यो रेटिङ २०७७ असार २५ गतेदेखि १ वर्षसम्मका लागि बाहल रहनेछ ।
कति कित्ताका लागि दिने आवेदन ?
नेपालमा हाल आइपीओमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ । पछिल्ला आइपीओहरुमा लगातार जसो झण्डै १५ लाख लगानीकर्ताले आवेदन दिएका छन् ।
यस्तै, नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि दिनदिनै वृद्धि हुँदै गएको छ । पछिल्लो समय खुलेको महिला लघुवित्तको ३ लाख ७५ हजार कित्ता आइपीओका लागि पनि झण्डै १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए ।
यस आधारमा, ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । किनभने, ज्योतिको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्नेछ । उक्त सेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ९४ हजार जना लगानीकर्तालाई मात्र दिन पुग्छ ।
तसर्थ, ज्योति लाइफ इन्स्योरेन्सले खुला गर्न लागेको सेयर र पछिल्लो समय आइपीओमा परेको आवेदनका आधारमा यस कम्पनीको १० कित्ता सेयर पाउन पनि भाग्यमानी हुनुपर्छ भन्न सकिन्छ । तथापि, यसमा कति आवेदन पर्छ रु अनि आवेदक संख्या कति हुन्छ भनेर अहिल्यै अनुमान गरिहाल्नु भने त्यति उचित हुँदैन ।
कम्पनी सम्बन्धी विवरण
ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९ र बिमा नियमावली २०४९ बमोजिम जीवन बिमा व्यवसायको कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा न. ९, कास्की जिल्लामा रहेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको कारोबार गर्ने मुख्य स्थान काठमाडौंको ज्ञानेश्वरमा रहेको छ । यसले आवश्यकता अनुसार बिमा समितिको स्वीकृति लिएर नेपालभर तथा विदेशमा पनि आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालयमार्फत कारोबार गर्न सक्नेछ । हालले नेपालभर ११८ वटा शाका कार्यालयमाफर्त बिमा कारोबार गरिरहेको छ ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
ज्योति लाइफ इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । जारी पुँजीमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% हुनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ज्योतिले २६ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आ.व. २०७८/०७९ मा ३३ करोड ७३ लाख ४७ हजार रुपैयाँ र आ.व २०७९/०८० मा ३९ करोड ३६ लाख ६२ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । कम्पनीले तत्काल पुँजी वृद्धि गर्ने कुनै पनि योजना बनाएको छैन । आ.व २०७९/०८० सम्म आइपीओ बिक्रीपछि कायम हुने २ अर्ब २० करोड रुपैयाँ पुँजी नै यथावत हुने प्रक्षेपण छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १२ रुपैयाँ २० पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३३ पैसा र आव २०७९/०८० मा १७ रुपैयाँ ८९ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २६ पैसा र आ.व २०७८/०७९ मा १५० रुपैयाँ ५९ पैसा पुग्ने अनुमान रहेको छ ।
प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु
ज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रकाश विक्रम खत्रीले सम्हालेका छन् । कम्पनीले २०७४ साउन १८ गते नियुक्ति दिएको हो
। खत्रीले कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनले बाक्र्लेज बैंक युकेमा सन् २००७ सेप्टेम्बरदेखि २०१० डिसेम्बरसम्म ३ वर्ष ३ महिना प्रबन्धक तहमा रहेर काम गरेका छन् । यस्तै, लक्ष्मी बैंकमा पनि प्रबन्धक तहको जिम्मेवारी सम्हालिसकेका छन् ।
साथै, नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंकमा सञ्चालकको कार्यानुभव पनि रहेको छ । यता, यस इन्स्योरेन्समा २० जना आधारभूत सेयरधनीहरु रहेका छन् । जसमध्ये सबैभन्दा धेरै उषा अग्रवाल र नितेश अग्रवाल प्रत्येकको २८ लाख कित्ता सेयर रहेको छ ।
यस्तै, एनआइसी एसिया बैंकले १५ लाख कित्ता सेयरमा लगानी गरेको छ । सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फन्ड प्रा.लि.को नाममा पनि ६ लाख कित्ता रहेको छ ।





























