काठमाडौँ । गरिमा म्युचूअल फण्डअन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्ड स्वीकृति पाएसँगै उक्त योजना निष्काशन हुने भएको हो ।
बोर्डले माघ २१ गते १ अर्ब बराबरको उक्त योजना निष्काशनका लागि अनुमति दिएको हो।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत ‘गरिमा सुवर्ण योजना’ खुलामुखी (ओपन–एन्डेड) योजनाका रूपमा सञ्चालन हुनेछ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै सार्वजनिक रूपमा निष्काशन हुन लागेको यस योजनाको कुल आकार १ अर्ब रहेको छ। प्रथम चरणको प्रारम्भिक निष्काशनमा बीज पुँजीसहित ५ करोड इकाई निष्काशन गरिनेछ, जसको प्रति इकाई मूल्य १० निर्धारण गरिएको छ।
कुल निष्काशनमध्ये न्यूनतम् ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनुपर्ने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
खुलामुखी योजनाका रूपमा सञ्चालन हुने भएकाले यसको अवधि लागू नहुने र निरन्तर रुपमा चलिरहने जनाइएको छ। योजनाका इकाईहरू नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण नहुनेछन् भने योजना व्यवस्थापकद्वारा सञ्चालन गरिने अनलाइन खरिद–बिक्री प्रणालीमार्फत इकाईको कारोबार गर्न सकिने व्यवस्था मिलाइनेछ।
यस योजनाको कोष प्रवर्धक गरिमा विकास बैंक लिमिटेड (लाजिम्पाट, काठमाडौँ) तथा निष्काशन तथा बिक्री प्रबन्धक, योजना व्यवस्थापक र डिपोजिटरीको जिम्मेवारी गरिमा क्यापिटल लिमिटेड (कमलपोखरी, काठमाडौँ)ले निर्वाह गर्नेछ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो।
कम्पनीले आफ्ना सेवाहरू गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमार्फत समेत सहज रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ।
साथै, ग्राहकमैत्री सेवा प्रवाहका लागि नवीनतम् प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

































