GB Koirala Banner Ad New

होम सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

 

ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरिएको छ ।
संस्थाका अध्यक्ष मुकुन्द महर्जनको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे सदस्यहरूलाई जानकारी गराएका थिए । प्रतिवेदनमा संस्थाले आर्थिक अनुशासन कायम राख्दै सदस्य केन्द्रित सेवा विस्तारमा जोड दिएको उल्लेख गरिएको छ ।
अध्यक्ष महर्जनका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा संस्थाको कुल कारोबार ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको शेयर पूँजी ४१ लाख ४९ हजार रुपैयाँ, कर्जा लगानी २ करोड ९६ लाख रुपैयाँ रहेको जानकारी सभामा दिइएको थियो ।
२०६५ सालमा स्थापना भएको होम बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन, नियमावली तथा सहकारीका मूल्य–मान्यताअनुसार सञ्चालन हुँदै आएको छ । “समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ” भन्ने नारासहित स्थापना भएको संस्थाले १७ वर्षको अवधिमा विभिन्न अनुभव र उपलब्धि हासिल गरेको अध्यक्ष महर्जनले बताए । उनका अनुसार संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हाल संस्थामा ५९४ जना सेयर सदस्य आबद्ध रहेका छन् । साधारण सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम तथा योजना प्रस्तुत गरी अनुमोदन समेत गरिएको छ ।
सभामा प्रस्तुत प्रतिवेदनअनुसार देशको वित्तीय क्षेत्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा व्यापार–व्यवसायमा आएको असरका कारण बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रमा कर्जा मागमा कमी आएको छ । तरलता वृद्धि भए पनि कर्जा लगानी र असुली चुनौतीपूर्ण बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवसरमा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक भुपेन्द्रमान बज्राचार्यले लेखा व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले हाल कर्जा लगानीमा केही कमी आएको देखिए पनि संस्थाको हरहिसाब चुस्त र दुरुस्त रहेको जानकारी दिए ।
साधारण सभाले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।