GB Koirala Banner Ad New

साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ ।

नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।

समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपाल टिम

गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

डिफेण्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने ।

फरवार्डः आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर