काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले सय १२ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै आरिफ शेखले ४३, दीपेन्द्र सिंह ऐरीले ३४, गुलशन झाले ३७ र भिम सार्कीले २९ रन बनाउनुभयो । बलिङमा युएईका आयन अफ्जल खान, जाहोर फरिद, रोहन मुस्ताफा र आयान खानले दुई दुई विकेट लिनुभयो ।
आर्यान लाक्रा र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । लिगकै अन्तिम सिरिजको रुपमा रहेको यस प्रतियोगितामा नेपालका लागि सबै खेल महत्वपूर्ण रहेको छ । नेपाललाई विश्वकपमा स्थान बनाउन सबै (तीन वटै) खेल जित्नै पर्ने बाध्यता छ ।
नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो । यता विश्वकप छनोटबाट बाहिरिएको युएई पनि एकदिवसीय मान्यता कायम राख्न नेपाललाई हराउने लक्ष्यमा छ ।
युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नुपर्ने हुन्छ । यस लिगमा नेपाल अहिले ३३ खेलबाट ३४ अङ्क जोड्दै पाँचौं स्थनमा छ । युएई ३३ खेलबाट ३१ अङ्क जोड्दै छैटौं स्थानमा छ ।
पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ । नेपालले तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो ।
सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।
लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । लिग२ मा सहभागी टोलीलाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।


























