काठमाडौं । शिखर इन्स्योरेन्सको दुई वर्षको वार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ र २०७६–७७ को साधारण सभा एकै पटक बोलाएको हो । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
शिखर इन्स्योरेन्सले गत वर्षको नाफाबाट २७.७६% बोनस सेयर र कर प्रयोजनको लागि १.४६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । कम्पनीको उक्त लाभांश ३०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउने छन् ।
कम्पनीले गत साउनमा ३०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
यसले प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको पुनः ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने जनाएको छ ।
कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक सेयर पुँजीको हिस्सा ६०% रहेको छ भने सर्वसाधारणको ४०% छ । ‘सेयर कन्भर्जन’ पछि संस्थापक सेयरको हिस्सा ५१% र सर्वसाधारणको हिस्सा ४९% पुग्ने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव छ । सभा प्रयोजनको लागि फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन् ।





























