काठमाडौं। विदेशमा रहेका नेपालीहरूको संगठन ‘गैरआवासीय नेपाली संघ’ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
काठमाडौंमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला पनि नेतृत्व लिन सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताएकी छिन् ।
उनले भनिन–हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ। नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।
संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्नेछु ।
सम्मेलनमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको बताएका छन। अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिएका छन् । थापा समुहलाई कम्युनिस्टहरूको समर्थन रहने भएको छ।
यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरि सकेका छन् । उनलाई कांग्रेसले समर्थन गर्ने भएको छ। एनआरएनएका वर्तमान पदाधिकारीले विधान विपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ ।
एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराएका थिए ।
केही दिनअघि उनीहरुले संघको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर लिँदै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग गरेका थिए ।
उनीहरुको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ ।
संघको आगामी अक्टोबर २३ देखि २५ तारेखसम्म महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको छ । संघ वि.सं. २०६० मा स्थापना भएको थियो।






























