काठमाडौं । झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सोलिडारिटी फर केसी अलायन्सले चिकित्सा शिक्षा ऐनको विपरित सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगलाई दवाव नदिन सरकारलाई आग्रह गरेको छ ।
आइतबार अलायन्सले भर्चुअल एक पत्रकार सम्मेलन गरी ऐनको विपरित गएर कुनै पनि अवैध कामका लागि आयोगका पदाधिकारीलाई दवाव नदिन सरकारलाई ध्यानाकर्षण गराएको हो ।
प्रस्तावित निजी मेडिकल कलेज बी एण्ड सीलाई अवैधरुपमा सम्बन्धन दिन प्रधानमन्त्रीबाटै दवाव आएको आयोगका पदाधिकारीहरुले नै जनाएको सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दवाव दिने प्रकृया चलिरहे सरकारका यस्ता अवैध कामहरुको भण्डाफोर गर्दै कडा आन्दोलनका कार्यक्रमहरु ल्याउनेसमेत अलान्सले चेतावनी दिएको छ ।
प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचारधीन रहेको अवस्थामा तथा चिकित्सा शिक्षा ऐन जारी हुनु अगावै मनसाय पत्र रद्ध भइसकेको अवस्थामा अहिले अघि बढाइनु कुनै पनि सम्बन्धनको प्रक्रिया न्यायसम्मत नहुने ठहर रहेको जनाइएको छ ।
बी एण्ड सीले अस्पताल सञ्चालन गरिए पनि मेडिकल कलेजका लागि मापदण्ड नपुगेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।































