काठमाडौं । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । अपरान्ह ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिनुभयो । गत शनिबार मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।
जनस्वास्थ्यविदहरुले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य रहेको सुझाव दिइरहेकाबेला सरकारले विभिन्न देशसँग खोप खरिदको प्रक्रिया अगाडि बढाइरहेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विभिन्न देशका समकक्षीहरुसँग खोपका लागि पत्राचार गरिरहनुभएको छ । सरकारले कोभिड खोपका लागि बजेटमा पनि यथोचित रकम विनियोजन गरेको छ ।































