GB Koirala Banner Ad New

नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इराक जाँदै

काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इराक तर्फ जाँदैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाज मार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

नेपालले आउँदो १५ गते शनिवार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न त्यहीँबाट कुवेत तर्फ जाने छ ।

विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की रहेका छन् ।यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् भने मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान छनोट भएका छन् ।

फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । नेपाली टोली आगामी जेठ २९ गते नेपाल फर्किनेछ । विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ ।