GB Koirala Banner Ad New

कालीमाटी तरकारी बजारको एन्टिजेन्ट नतिजा ४०२ एन्टिजेन्ट परीक्षणमा १२ जना पोजेटिभ:  भोलि विहान वडा २८ को टुकुचा तरकारी बजारमा परीक्षण हुने

काठमाडौँ । आज विहान कालीमाटी तरकारी बजारमा ४ सय २ जनामा एन्टिजेन्ट परीक्षणमा गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ । ४ सय २ जनामा ७९ महिला र ३ सय २३ जना पुरुषले परीक्षण गराउनु भएको थियो ।

परीक्षणबाट पोजेटिभ देखिएकाहरुमध्ये अस्पताल भर्ना हुनुपर्ने गरी विरामी भएका कोही पनि छैनन् । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्नुहुन्छ, ‘पोजेटिभ देखिएका सबैलाई परामर्श गरेर पठाएका छौँ ।’

कोविड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु गरिएको हो । कोविडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् ।

पूर्व योजनाअनुसार भोलि जडीबुटीस्थित तरकारी बजारमा परीक्षण गर्ने कार्यक्रम थियो । अहिले बजार बन्द भएकोले त्यसको सट्टा भोलि टुकुचा तरकारी बजारमा परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च संक्रमण भएका ठाउँमा परीक्षण गरिएको हो ।

महानगरको पीसीआर स्वाब संकलनका संयोजक ऋषिप्रसाद भुषालकाअनुसार जेठ १ गतेदेखि ३ गतेसम्म महानगरभित्रबाट १ हजार २ सय ९४ जनाको पीसीआर विधिबाट स्वाब संकलन गरिएको थियो । जसमध्ये ३४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।