काठमाडौं । जेठ ९ गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको एनएमबि बैंकले उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।
यसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९२/९३’ जारी गर्न लागेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । एनएमबिको उर्जा ऋणपत्रमा जेठ १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् ।
यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।




























